Take a fresh look at your lifestyle.
npa 9 suchana

आफ्नै करेसाबारीबाट पूरा पोषण : कुपोषणविरुद्ध ईशनाथका आमाहरूको पहल

gadhimai nagar palika ko suchana
suchana gadhimai

आफ्नै करेसाबारीबाट पूरा पोषण : कुपोषणविरुद्ध ईशनाथका आमाहरूको पहल

यमुनामाई गाउँ पालिकाको सुचना

विना राउत ।रौतहट, २ भदौ । आफ्नै करेसाबारीमा उत्पादन गरिएको ताजा तथा पोषणयुक्त सागसब्जीको प्रयोगले रौतहटको ईशनाथ नगरपालिकाका बालबालिकामा कुपोषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउन थालेको छ। संरक्षण नेपालले केयर नेपालको सहयोगमा सञ्चालन गरेको पोषण परियोजनाले स्थानीय परिवारलाई करेसाबारी निर्माण, पोषणयुक्त खाना तथा बालबालिकाको स्वास्थ्यसम्बन्धी व्यवहारमा परिवर्तन ल्याउन प्रेरित गरिरहेको छ।
ईशनाथ नगरपालिका–२ की मधुकुमारी साहको दुई वर्ष पुग्न दुई महिना बाँकी छँदा उनका छोरा कुपोषित भएको पत्ता लाग्यो। बच्चाले खाना नखाने, पटक–पटक रुने र तौल कम हुँदै गए पनि सुरुमा उनले त्यसलाई सामान्य समस्या ठानेकी थिइन्। घरमै पुगेकी महिला स्वास्थ्य स्वयंसेविकाले बच्चा कमजोर देखिएको भन्दै स्वास्थ्य संस्थामा जाँच गराउन सुझाव दिएपछि मात्र कुपोषणको अवस्था पहिचान भयो।
स्वास्थ्य संस्थामा परीक्षणपछि बच्चा कुपोषित भएको पुष्टि भयो। उपचारसँगै पोषणयुक्त खाना खुवाउने अभ्यास सुरु गरेपछि अहिले बच्चाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको मधुकुमारी बताउँछिन्।
“पहिले हाँस्नुभन्दा पनि छिनछिनमा रुन्थ्यो, अहिले केही कुरा गर्‍यो कि हाँसेर जिस्किन आउँछ। मेरो छोरा अहिले धेरै राम्रो भएको छ,” उनले खुसी हुँदै भनिन्।
संरक्षण नेपालले पोषण परियोजनामार्फत परिवारलाई लिटो तथा पोषणयुक्त खाना बनाउन सिकाउनुका साथै दाल, चना, घ्यू लगायतका खाद्य सामग्री उपलब्ध गराउँदै आएको छ। परियोजनाले घरमै पोषणयुक्त तरकारी उत्पादनका लागि करेसाबारी बनाउनसमेत प्रोत्साहन गरेको छ।
मधुकुमारीले अहिले आफ्नो करेसाबारीमा घिरौँला, बोडी, लौका लगायतका तरकारी उत्पादन गरी परिवारमा उपभोग गर्दै आएकी छन्।
ईशनाथ नगरपालिका–३ की नेहाकुमारीको अनुभव पनि उस्तै छ। संयुक्त परिवारमा बजारबाट नियमित तरकारी खरिद गर्न आर्थिक रूपमा कठिन हुने भएकाले उनले आफ्नै करेसाबारीमा मौसमअनुसार सात प्रकारका तरकारी लगाउँदै आएकी छन्।
“करेसाबारीमा फलेका सागसब्जीले पोषणयुक्त खाना प्राप्त गर्न धेरै मद्दत पुगेको छ,” उनले भनिन्।
संरक्षण नेपालबाट कृषि तथा पोषणसम्बन्धी तालिम पाएपछि आफू अगुवा कृषकका रूपमा गाउँघरमा करेसाबारीको महत्वबारे जानकारी गराउँदै आएको नेहाकुमारीले बताइन्। उनले रासायनिक मलभन्दा गाउँघरमै उपलब्ध जैविक मल प्रयोग गरी तरकारी उत्पादन गर्ने गरेको बताउँदै आफूले उत्पादन गरेका तरकारी छिमेकीलाई समेत दिने गरेकी छन्।
उनका अनुसार अहिले करेसाबारीमा लौका, घिरौँला, भिन्डी, कोभी लगायतका तरकारी लगाइएको छ। आफ्नै घरमा उत्पादन भएको ताजा र पोषणयुक्त तरकारी खानाले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने उनको अनुभव छ।
ईशनाथ नगरपालिका–३ स्वास्थ्य चौकीका प्रमुख दिनेश साहका अनुसार बालबालिकाको तौल, उचाइ तथा अन्य स्वास्थ्य सूचक ‘कोबो एप’मा प्रविष्ट गरी कुपोषणको अवस्था पहिचान गरिन्छ। कुपोषणको तहअनुसार उपचार तथा पोषणसम्बन्धी सेवा प्रदान गरिँदै आएको उनले बताए।
उनका अनुसार वडा नं. ३ मा कुपोषित बालबालिका १५ जना भेटिए पनि अहिले सबैको स्वास्थ्य अवस्थामा सुधार आएको छ। गैरसरकारी संस्था र स्थानीय सरकारबीचको समन्वयबाट कुपोषण न्यूनीकरणमा सकारात्मक परिणाम देखिएको उनको भनाइ छ। ईशनाथ नगरपालिकामा गर्भवती तथा सुत्केरी गरी ६२५ जना परियोजनाबाट लाभान्वित भएका छन्।
पोषण तथा सरसफाइ सहजकर्ता चन्दा कुमारीका अनुसार संरक्षण नेपालको पोषण परियोजना रौतहटका १८ स्थानीय तहमध्ये राजदेवी, ईशनाथ, चन्द्रपुर, कटहरिया र गरुडा गरी पाँच पालिकामा सञ्चालन भइरहेको छ। परियोजनाले दलित, मुस्लिम तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिएको छ।
बालबालिकालाई कुपोषणमुक्त बनाउनु परियोजनाको मुख्य उद्देश्य रहेको उनले बताइन्। मौसमअनुसारका पोषणयुक्त तरकारी उत्पादन गर्न लाभग्राहीलाई बीउबिजन उपलब्ध गराउनेदेखि कृषि तथा पोषणसम्बन्धी तालिमसमेत दिइँदै आएको छ।
आर्थिक वर्ष २०८२/८३ मा गरिएको सर्वेक्षणमा ११८ जना कुपोषित बालबालिका फेला परेको र उनीहरूको उपचार सुरु गरिएको ईशनाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत नितेस कुमार साहले बताए।
“पालिकाले उपलब्ध गराउने पोषण मात्र पर्याप्त हुँदैन। आफ्नै करेसाबारीमा उत्पादन हुने खाद्य सामग्री बालबालिकाको कुपोषण हटाउन निकै महत्वपूर्ण हुन्छ। यसमा अभिभावकले विशेष ध्यान दिनुपर्छ,” उनले भने।
नेपालमा बालबालिकाको कुपोषणको अवस्थामा सुधार आए पनि चुनौती भने कायमै रहेको जनस्वास्थ्य क्षेत्रका अधिकारीहरूको भनाइ छ। आर्थिक अवस्था कमजोर हुनु, खाद्य असुरक्षा, सरसफाइको कमी तथा मातृ–शिशु पोषणसम्बन्धी कमजोर अभ्यास कुपोषणका प्रमुख कारण मानिन्छन्।
स्थानीयस्तरमै पोषणयुक्त खाद्य उत्पादन र उपभोग बढाउने हो भने बालबालिकाको कुपोषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ। ईशनाथका मधुकुमारी र नेहाकुमारीको अनुभवले पनि “आफ्नै करेसाबारीबाट पूरा पोषण” भन्ने अभियान बाल स्वास्थ्य सुधारको प्रभावकारी आधार बन्न सक्ने देखाएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.