

ढल निर्माणमा नमुना बन्दै मौलापुर, नगर प्रमुख साहद्वारा निरीक्षण

रौतहट, २ भदौ ।
रौतहटको मौलापुर नगरपालिका ढल निर्माणको क्षेत्रमा समेत नमुना बन्दै गएको छ। शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युत्, दलित बस्ती निर्माणलगायतका क्षेत्रमा विभिन्न नमुना कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले ढल व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम अघि बढाएको हो।
नगरपालिकाले शून्य करको नीति अवलम्बन गर्दै निःशुल्क पानी, निःशुल्क विद्युत्, छोरीको विवाहमा सहयोग तथा शिक्षा र स्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। नगरपालिकाले अघि सारेका विभिन्न नमुना कामको अध्ययन तथा अवलोकन गर्न देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा टोली मौलापुर आउने गरेको नगरपालिकाको भनाइ छ।
यसै क्रममा मौलापुर नगरपालिकाभित्र करोडौँ रुपैयाँको लागतमा विभिन्न स्थानमा ढल निर्माणको काम भइरहेको छ। कतिपय स्थानमा निर्माण सम्पन्न भइसकेको छ भने केही क्षेत्रमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। ढल निर्माणलाई व्यवस्थित र दीर्घकालीन बनाउने उद्देश्यले नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ।
स्थानीय सुरेन्द्र कुशवाहाले मौलापुरमा निर्माण भइरहेको ढल अन्य पालिकाको तुलनामा व्यवस्थित र प्रभावकारी देखिएको बताए। उनका अनुसार मौलापुरले विभिन्न क्षेत्रमा गरिरहेको नमुना कामको अध्ययन गर्न टाढाटाढाबाट जनप्रतिनिधि तथा सरोकारवाला आउने गरेका छन्।
यसैबीच मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले निर्माणाधीन ढलको स्थलगत निरीक्षण गरेकी छन्। निरीक्षणका क्रममा उनले नगरपालिकाले सञ्चालन गर्ने अन्य विकास योजनाजस्तै ढल निर्माणको काम पनि गुणस्तरीय र नमुनायोग्य हुनुपर्नेमा जोड दिइन्।
विशेषगरी मौलापुरको ऐतिहासिक महादेव मन्दिर क्षेत्र, पतौरा गाउँ तथा बजार क्षेत्रमा पानी निकासको समस्या समाधान गर्न ढल निर्माणको कामलाई तीव्रता दिइएको छ। नगर प्रमुख साहले परियोजना सम्पन्न भएपछि पतौरा गाउँ र बजार क्षेत्रमा वर्षायाममा हुने डुबानको समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास व्यक्त गरिन्।
तराई–मधेसका धेरै स्थानमा व्यवस्थित ढल निकासको अभावका कारण वर्षायाममा डुबान तथा जलजमावको समस्या हुने गरेको छ। यस्तो समस्या समाधानका लागि मौलापुर नगरपालिकाले अघि बढाएको ढल निर्माण योजनाले स्थानीय बासिन्दालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

