

रौतहटमा मानव अधिकार सम्बन्धी छलफल कार्यक्रम सम्पन्न
रौतहट, गौर — मानव अधिकार रक्षकको अवस्था, सवाल तथा सरोकारवालाको भूमिकाबारे केन्द्रित छलफल कार्यक्रम गौरस्थित होटल सिया प्यालेसको सभाहलमा सम्पन्न भएको छ।
साथ साथ सिकाइ सञ्जाल रौतहटको आयोजनामा तथा कोे क्यापको सहयोगमा सम्पन्न कार्यक्रममा मानव अधिकार रक्षकको परिभाषा, कानुनी व्यवस्था, मधेस प्रदेशमा उनीहरूको सुरक्षा अवस्था, काम–कर्तव्य, समस्या र चुनौतीबारे विस्तृत जानकारी गराइएको थियो। साथै मानव अधिकार रक्षकले पालन गर्नुपर्ने आधारभूत सिद्धान्त तथा सुरक्षा र संरक्षणका उपायबारे पनि छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै गौर नगरपालिकाकी पूर्व उपमेयर तथा मानव अधिकारकर्मी किरण ठाकुरले मानव अधिकार कुनै जात, धर्म वा वर्ण विशेषका लागि नभई सम्पूर्ण मानवको लागि भएको बताउँदै मानव अधिकार उल्लंघन भएमा सबै मिलेर पैरवी र बहस गर्नुपर्नेमा जोड दिइन्।
त्यसैगरी ममता झाले मानव अधिकार हननका घटनामा पीडितलाई न्याय दिलाउन मानव अधिकारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताइन्। उनले एकताको माध्यमबाट मात्रै पीडितले न्याय पाउन सक्ने भएकाले सबै सरोकारवाला एकजुट हुनुपर्ने धारणा राखिन्।
कार्यक्रममा सहभागीहरूले मानव अधिकार रक्षकहरूले पीडितको पक्षमा आवाज उठाउँदा राजनीतिक दबाब, धम्की तथा विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको गुनासो गरेका थिए। साथै सम्बन्धित निकायले यी समस्या गम्भीरतापूर्वक नलिएको विषयमा पनि चिन्ता व्यक्त गरिएको थियो।
सञ्जालका संयोजक किरण पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्जालका सदस्य, मानव तथा महिला अधिकारकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण निलु झाले गरेकी थिइन् भने सञ्चालन बिना राउतले गरेकी थिइन्।


