

नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष तथा पत्रकार प्रिमेश सिवाकोटीको निधन, पत्रकारिता क्षेत्रमा शोक
रौतहट, २९ असार। नेपाल प्रेस युनियन रौतहट शाखाका अध्यक्ष तथा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका रौतहट संवाददाता प्रिमेश सिवाकोटीको सोमबार बिहान असामयिक निधन भएको छ। उनी चन्द्रपुर नगरपालिकास्थित आफ्नै पैतृक निवासमा निधन भएका हुन्।
पछिल्लो केही समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका सिवाकोटीको मिर्गौला, कलेजो, फोक्सोलगायत शरीरका महत्वपूर्ण अंगहरूले काम गर्न छाडेपछि उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
सिवाकोटी रौतहटको पत्रकारिता क्षेत्रमा सक्रिय, ऊर्जाशील, निर्भीक तथा जिम्मेवार पत्रकारका रूपमा परिचित थिए। सत्य र जनसरोकारका विषयलाई निडरतापूर्वक उठाउँदै आएका उनको असामयिक निधनले रौतहटको पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको छ।
उनको निधनको खबर सार्वजनिक भएसँगै रौतहटसहित देशभरका पत्रकार, सञ्चारकर्मी, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ। धेरैले उनलाई मिलनसार, इमानदार, सहयोगी तथा कर्तव्यनिष्ठ पत्रकारका रूपमा स्मरण गरेका छन्।
यसैबीच, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल र रौतहट शाखाका सचिव गौतम श्रेष्ठले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै स्वर्गीय सिवाकोटीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
त्यसैगरी, नेपाली कांग्रेसका पूर्वसांसद देवप्रसाद तिमल्सिनाले स्वर्गीय सिवाकोटीको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
स्वर्गीय प्रिमेश सिवाकोटीको असामयिक निधनले रौतहटको पत्रकारिता क्षेत्रले एक जुझारु, निष्ठावान् र जनपक्षीय पत्रकार गुमाएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।


