

ठगी तथा आपराधिक विश्वासघात मुद्दामा दुई जना पक्राउ
प्तहट,१७ बैशाख — जिल्ला प्रहरी कार्यालय रौतहटले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा सर्लाही पर्सा गाउँपालिका वडा नं. २ निवासी विपेन्द्र कुमार साह र धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. २१ बस्ने दिनेश साह सोनार रहेका छन्।
प्रहरीका अनुसार रौतहटको गढीमाई नगरपालिका वडा नं. १ निवासी तारकेश्वर साहले घरायसी प्रयोजनका लागि केही वर्षअघि विपेन्द्र कुमार साहसँग ऋण लिएका थिए। ऋण वापत लुम्बिनी विकास बैंकको खाली चेक हस्तान्तरण गरिएको थियो। पछि पीडितले किस्ता–किस्तामा रकम फिर्ता गरे पनि बाँकी रकमको विषयमा विवाद सिर्जना भएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा आरोपितहरूले उक्त खाली चेक दुरुपयोग गर्दै अनधिकृत रूपमा ठूलो रकम उल्लेख गरी बैंकिङ कसुरमा फसाउने प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ। साथै, पीडितलाई पटक–पटक धम्कीसमेत दिइएको बताइएको छ।
प्रहरीले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।


