

मौलापुर नगरपालिकाद्वारा ४२ करोडको बजेट प्रस्तुत, शिक्षा–स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता
रौतहट, असार १० गते ।
रौतहटको मौलापुर नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि झण्डै ४२ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। विशेष समारोहका बीच सम्पन्न नगरसभा अधिवेशनमा नगर प्रमुख रीना कुमारी साहको नेतृत्वमा बजेट सार्वजनिक गरिएको हो।
प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ। नगरपालिकाले विगतदेखि सञ्चालन हुँदै आएका जनहितकारी कार्यक्रमहरूलाई निरन्तरता दिँदै “नगर मास्टर”, “नगर डाक्टर”, “निःशुल्क बिजुली”, “निःशुल्क खानेपानी” तथा “छोरीसँग मेयर कार्यक्रम” आगामी वर्षमा समेत प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ।
त्यसैगरी, दलित समुदायको उत्थान र जीवनस्तर सुधारका लागि नमूना एकीकृत दलित बस्ती निर्माण गर्ने योजना बजेटमा समावेश गरिएको छ। नगरलाई ‘कच्ची सडक मुक्त नगर’ बनाउने लक्ष्यसहित सडक, नाला, खानेपानी तथा अन्य आधुनिक पूर्वाधार विकासका कार्यक्रमहरू अघि सारिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको यो बजेटले रौतहट जिल्ला तथा मधेश प्रदेशमै विकास र सुशासनको सकारात्मक सन्देश दिएको स्थानीयवासी तथा सरोकारवालाहरूले बताएका छन्।
विशेष समारोहका बीच सम्पन्न नगरसभा कार्यक्रममा नगर प्रमुख रीना कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत, सहायक प्रमुख प्रशासकीय अधिकृत राम बाबु साह, विभिन्न वडाका वडा अध्यक्षहरू, नगरसभा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, कर्मचारी, पत्रकार तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले जनमुखी, समावेशी तथा विकासमुखी बजेट ल्याएको भन्दै नगर नेतृत्वको प्रशंसा गरेका थिए। साथै बजेट निर्माण तथा पारित प्रक्रियामा योगदान पुर्याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरिएको थियो।
मौलापुर नगरपालिकाले प्रस्तुत गरेको यो बजेट आगामी वर्षमा नगरवासीको जीवनस्तर सुधार, सामाजिक न्यायको प्रवर्द्धन तथा दिगो विकासको लक्ष्य हासिल गर्न महत्वपूर्ण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।


