

रौतहट, १३ असोज । रौतहटमा साझेदारी वनबाट सालको काठ चोरी निकासी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्।
आइतबार राति करिब १०ः३० बजे चन्द्रपुर नगरपालिका–७, रेलवे क्षेत्रमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर, नेपाल प्रहरीलगायत सुरक्षा निकायको संयुक्त गस्ती टोलीले काठ चोरी निकासी गरिरहेको अवस्थामा स्थानीय अनिल रामलाई नियन्त्रणमा लिएको हो।

गस्ती टोलीले रंगपुर साझेदारी वनबाट सालको काठका ५ थान गोलिया (करिब २५ क्युफिट) तीनवटा साइकलमा लोड गरी लैजाँदै गरेको अवस्थामा रामलाई पक्राउ गरेको जनाएको छ।
बरामद काठको अनुमानित मूल्य १ लाख ३७ हजार रुपैयाँ रहेको छ। घटनास्थलबाट काठ काट्न प्रयोग हुने एक थान आरा समेत बरामद गरिएको छ।
पक्राउ परेका रामलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

