

गौर राइस मिल्सको जग्गा संरक्षण गर्न नागरिक समाजको खबरदारी, सर्वदलीय बैठक निष्कर्षविहीन
रौतहट, २८ भदौ । गौर राइस एण्ड फ्लोर मिल्सको बहुमूल्य जग्गा संरक्षणका लागि नागरिक समाजले खबरदारी अभियान सञ्चालन गरेको छ। सार्वजनिक महत्व बोकेको उक्त जग्गामाथि भूमाफिया तथा बिचौलियाको चलखेल हुनसक्ने भन्दै नागरिक अगुवाहरूले जग्गा संरक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन्।
नागरिक समाज रौतहटका अध्यक्ष जगन्नाथ प्रसाद केसरीको आह्वानमा आइतबार आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकमा गौर राइस मिल्सको जग्गा संरक्षण, चारकिल्ला प्रमाणित, नाप–नक्सा तथा अतिक्रमण हटाउने विषयमा छलफल भएको थियो। यद्यपि बैठकबाट तत्काल कुनै ठोस निष्कर्ष भने निकाल्न सकिएन।
बैठकमा सहभागी अधिकांश सरोकारवालाले गौर राइस मिल्सको जग्गाको यथार्थ अवस्था पहिचान गरी चारकिल्ला प्रमाणित गर्नुपर्ने, नाप–नक्सा गरेर अतिक्रमित क्षेत्र छुट्याउनुपर्ने र सार्वजनिक प्रयोजनको जग्गा संरक्षण गर्नुपर्ने धारणा राखेका थिए।
केही व्यक्तिहरूले भने उक्त जग्गा बिक्री गरी अन्यत्र खेलमैदानका लागि जग्गा खरिद गर्न सकिने धारणा राखेको बताइएको छ। तर बैठकमा यस विषयमा खुलेर बहस हुन नसकेको सहभागीहरूले बताएका छन्।
नागरिक समाजका अध्यक्ष केसरीले सार्वजनिक महत्वको सम्पत्तिमाथि चलखेल, बिक्री वा हडप्ने प्रयास स्वीकार्य नहुने बताए। उनले भूमाफिया तथा बिचौलियामार्फत हुनसक्ने कुनै पनि प्रकारको चलखेलविरुद्ध नागरिकस्तरबाट खबरदारी जारी रहने स्पष्ट पारे।
“गौर राइस मिल्सको जग्गा निजी सम्पत्तिको विषय मात्र होइन, यो सार्वजनिक सरोकार र रौतहटवासीको ऐतिहासिक महत्वसँग जोडिएको सम्पत्ति हो,” केसरीले भने, “यसको उचित संरक्षणका लागि राजनीतिक दल, नागरिक समाज, स्थानीय सरोकारवाला र सम्बन्धित सबै पक्षबीच साझा धारणा आवश्यक छ।”
उनका अनुसार बैठक पुनः सोमबार बसेर गौर राइस मिल्सको जग्गासम्बन्धी कानुनी अड्चन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रलगायत विषयमा थप छलफल गरिनेछ।
त्यसपछि जिल्लाका चारै जना संघीय सांसद, आठै जना प्रदेशसभा सदस्यसहित सर्वदलीय तथा सर्वपक्षीय बैठकमार्फत केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै जग्गा संरक्षण तथा आवश्यक परे अधिग्रहण प्रक्रियातर्फ अघि बढ्ने तयारी रहेको अध्यक्ष केसरीले बताए।
लामो समयदेखि विवाद र चासोको विषय बन्दै आएको गौर राइस मिल्सको जग्गा संरक्षणका लागि सुरु भएको सर्वदलीय तथा सर्वपक्षीय छलफलले आगामी दिनमा ठोस निर्णय लिन सक्ने अपेक्षा नागरिक अगुवाहरूले गरेका छन्


