
मित्रसहित पाँच साहित्यकार भारतको वैशालीमा सम्मानित
मित्रसहित पाँच साहित्यकार भारतको वैशालीमा सम्मानित


मित्रसहित पाँच साहित्यकार भारतको वैशालीमा सम्मानित
वैशाली (भारत), २९ भदौ । बज्जिका भाषा तथा साहित्यको संरक्षण, प्रवर्द्धन र विकासमा योगदान पुर्याउँदै आएका नेपालका पाँच जना साहित्यकार भारतको वैशाली जिल्लामा सम्मानित भएका छन्।
सम्मानित हुने साहित्यकारमा बज्जिका प्रज्ञा प्रतिष्ठान नेपालका अध्यक्ष इन्द्रजीत सहनी, अनलाइन साहित्य शृंखलाका सञ्चालक सञ्जय महतो राज, कवि शिवचन्द्र प्रसाद साह, मुक्तककार रुपेश रोदन र साहित्यकार सञ्जय साह मित्र रहेका छन्।
लिच्छवी साहित्य–संस्कृति तीर्थ नामक संस्थाले वैशाली जिल्लाको लालगञ्जमा आयोजना गरेको अन्तर्राष्ट्रिय संगोष्ठी तथा कवि सम्मेलनमा साहित्यकार इन्द्रजीत सहनी, सञ्जय महतो राज, शिवचन्द्र प्रसाद साह र रुपेश रोदनलाई ‘शोध प्रोत्साहन सम्मान’ प्रदान गरिएको हो।

त्यस्तै, पश्चिम चम्पारण, सिकटाका विधायक समृद्ध वर्मा, वैशाली लालगञ्जका विधायक सञ्जयकुमार सिंह तथा इतिहास, संस्कृति र साहित्यका विशिष्ट विद्वानहरूको सहभागितामा सम्पन्न कार्यक्रममा साहित्यकार सञ्जय साह मित्रलाई ‘राजा विशाल सम्मान’ प्रदान गरिएको आयोजकले जनाएको छ।
लिच्छवी साहित्य–संस्कृति तीर्थका अध्यक्ष मणिभूषण प्रसाद सिंह अकेला, कोषाध्यक्ष सन्तोष चौधरी, सचिव डा. मायानन्द तथा संयोजक डा. दीपमाला श्रीवास्तवको विशेष पहलमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपालबाट सहभागी बज्जिका साहित्यकारहरूको टोलीलाई विशेष सम्मानसमेत गरिएको थियो।
कार्यक्रममा सहभागी हुनुअघि चर्चित साहित्यकार मणिभूषण प्रसाद सिंह अकेलाको निजी निवासमा नेपाली साहित्यकारहरूको स्वागत तथा सम्मान गरिएको थियो।
नेपालबाट गएको बज्जिका साहित्यिक टोलीले बज्जिका भाषाको जन्मस्थलका रूपमा लिइने भारतको वैशाली जिल्लास्थित वसाढलगायतका महत्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन भ्रमणसमेत गरेको थियो।
यस सम्मानले नेपाल र भारतबीचको बज्जिका भाषा, साहित्य तथा संस्कृति आदान–प्रदानलाई थप मजबुत बनाउन सहयोग पुग्ने साहित्यकारहरूले बताएका छन्।
