

सीमानाकाको बासिन्दाहरुद्धारा गौर भन्सार अगाडी प्रदर्शन
,रौतहट, ७ पुस ।
बेटी रोटीको सम्बन्ध तोड्न पाइदैन, छोटी भन्सार कार्यालय चालु गर” नारा सहित गौर भन्सार कार्यालय अगाडी बाटो अवरुद्ध गरेर करिव आधा घण्टा सीमानाकाको बासिन्दाहरु प्रदर्शन गरेका छन् ।
आज आइतवार सिमाना संघर्ष समिति परोहा ९ ले गौरमा विरोध प्रदर्शन गर्दै भन्सार कार्यालयको ढाँट बन्द गरेर बाटोमै धर्नामा बसेपछि करिव ३० मिनेट सम्म बाटो अबरुद्ध भएको थियो । बाटोमा बसेका बसिन्दाहरुले “बेटी रोटीको सम्बन्ध तोड्न पाइदैन, छोटी भन्सार कार्यालय चालु गर” लगायतका विभिन्न चर्को नाराहरु लगाउदै प्रदर्शन गरेका थिए ।
भारतको सिमानासँंग जोडिएका रौतहटको इशनाथ नगरपालिका वडा नम्वर १, २ र ४ का सिमानाकाहरुबाट निर्वाध रुपमा गईरहेका चार चक्का सवारीसाधनलाई आवत-जावतमा रोक लगाएपछि स्थानीयवासीहरु आन्दोलनमा उत्रेका हुन ।
नेपाल सिमाना संघर्ष समिति परोहा रौतहटद्धारा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र समेत बुझाएका छन् ।
सीमाना संघर्ष समिति परोहा ९ ले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई प्रजिअ मार्फत बुझाएको ज्ञापन पत्रमा संविधानको धारा १६ ले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने, धारा १७ ले स्वतन्त्रताको हक, धारा १८ मा सामान्ताको हक प्रदान गरेको छ, धारा ३७ ले आवासको हक, धारा ४२ ले सामाजिक न्यायको हक, धारा ४३ सामाजिक सुरक्षा हक र धारा ४६ ले संबैधानिक उपचारको हक प्रदान गरेको छ ।
त्यस भेगका बासिन्दाहरुलाई भारत तर्फ जान र आउन निकै लामो रुट भएर जानुपर्ने बाध्यता भएकोले जिल्ला प्रशासन कार्यालय सहित विभिन्न निकायलाई ध्यानाकर्षण गराए पनि कुनै वास्ता नगरिएपछि इशनाथ नगरपालिकाका मेयर सहित पूर्व मेयर लगायतका स्थानीय बासिन्दाहरु प्रजिअलाई ज्ञापन पत्र बुझाएर निरन्तर रुपमा संघर्षका कार्यक्रम गर्दै आएका छन् ।