

मालपोत कार्यालय गौरमा ढिलासुस्ती, सेवाग्राही मारमा
,रौतहट १५ बैशाख
— भूमि सुधार तथा मालपोत कार्यालय, गौर रौतहटका कर्मचारीहरूको ढिलासुस्तीका कारण सेवाग्राही मारमा परेका छन्। नेपाल सरकारले कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोके पनि सम्बन्धित फाँटका कर्मचारीहरू १० बजेसम्म कार्यालय नआउँदा सेवा लिन आएका नागरिकहरू घण्टौँ कुर्न बाध्य भएका हुन्।
सेवाग्राहीहरूका अनुसार समयमै सेवा नपाउँदा दैनिक कामकाज प्रभावित हुनुका साथै अनावश्यक हैरानी व्यहोर्नुपरेको छ। विशेषगरी जग्गा सम्बन्धी कामका लागि टाढाटाढाबाट आएका नागरिकहरू लामो समय कुर्न बाध्य भएका छन्।
यस विषयमा कार्यालय प्रमुख रंजय पटेलसँग सम्पर्क गर्दा कर्मचारीहरूको बैठक रहेको कारण ढिलो भएको प्रतिक्रिया दिएका छन्।
यद्यपि, नियमित रूपमा हुने यस्ता ढिलासुस्तीले कार्यालयको सेवा प्रवाहमा प्रश्न उठेको छ भने सेवाग्राहीहरूले सुधारको माग गरेका छन्।


