

जेठ महिनामा रौतहटमा १११ अपराध दर्ता, ४८ फरार प्रतिवादी पक्राउ
, रौतहट ३ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ को जेठ महिनामा सम्पन्न भएका गतिविधिहरूको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार जेठ महिनामा जिल्लाभर १११ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका छन्।
प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये ज्यान सम्बन्धी १३, आत्महत्या २६, चोरी २, संगठित तथा आर्थिक अपराध ३०, सामाजिक अपराध १७, महिला तथा बालबालिका सम्बन्धी अपराध १२, सवारी ज्यान ५ र अन्य १४ वटा रहेका छन्।
आर्थिक अपराधतर्फ बैंकिङ कसुर २४, हुण्डी १ र ठगी ५ वटा मुद्दा दर्ता भएका छन्। जघन्य तथा गम्भीर अपराधअन्तर्गत कर्तव्य ज्यान र हातहतियार सम्बन्धी १/१ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
यस अवधिमा ४८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट फैसला कार्यान्वयन गराउँदा १० वर्ष ७ महिना ११ दिन कैद तथा रु. २४ लाख ७३ हजार १२० जरिवाना असुल गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी क्षेत्रमा १६० वटा उजुरी प्राप्त भएका छन्। उमेर समूहका आधारमा हेर्दा १८ वर्षमुनिका २०, १९–२५ वर्षका ८२, २६–४० वर्षका ४३, ४१–५९ वर्षका ६ र ६० वर्षमाथिका १ जना पीडित रहेका छन्।
त्यसैगरी, जेठ महिनामा ४५ जना हराएका तथा ४१ जना फेला पारिएका छन्। हराएकामध्ये २३ महिला, २ बालक, १९ बालिका र १ ज्येष्ठ नागरिक रहेका छन्।
घरेलु हिंसासम्बन्धी उजुरी विभिन्न स्थानीय तहबाट प्राप्त भएका छन्। अधिकांश उजुरीहरू मेलमिलापमार्फत समाधान गरिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षा क्षेत्रमा आफ्नो सक्रियता निरन्तर जारी रहेको जनाएको छ।


