


रौतहट ८ साउन । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि गृह क्षेत्रमै कालो मसी प्रहार भएको घटना सार्वजनिक भएको छ । गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सम्पन्न गरी फर्किने क्रममा बिहीबार राति अज्ञात समूहले सांसद पौडेलमाथि कालो मसी प्रहार गरेको बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार कार्यक्रम सकिएपछि फर्किने तयारीमा रहेका सांसद पौडेल नजिक मास्क लगाएका २–३ जना युवक पछाडिबाट पुगेका थिए । चिनेजानेको व्यक्तिले अँगालो हालेझैँ गरी नजिकिएका उनीहरूले पौडेलको ढाडमा कालो मसी दलेर अँध्यारोको फाइदा उठाउँदै घटनास्थलबाट फरार भएको बताइएको छ ।
घटनापछि सांसद पौडेलले आक्रमणकारीहरूको हातमा रातो झण्डा तथा केही पर्चा रहेको र उनीहरूले आफूलाई ‘मधेश मुक्ति अभियान’सँग आबद्ध समूह भएको संकेत दिएको दाबी गरेका छन् । स्थानीयवासी तथा समर्थकहरूले उनीहरूलाई नियन्त्रणमा लिन खोजे पनि उनीहरू फरार हुन सफल भएको बताइएको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । सांसद पौडेलका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ‘फगु’ वा ‘फुगु’ नामले चिनिने एक व्यक्तिको नाम खुलेको दाबी गरिएको भए पनि घटनामा संलग्न भनिएका व्यक्तिहरू हालसम्म पक्राउ परेका छैनन् ।
राजनीतिक असहमति र विरोध लोकतान्त्रिक अधिकार भए पनि अपमानजनक तथा आक्रमणकारी शैलीमा विरोध प्रदर्शन गर्नु लोकतान्त्रिक संस्कृतिविपरीत हुने राजनीतिक विश्लेषकहरूको धारणा छ ।
घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गरेर कानुनी कारबाही गर्न स्थानीयवासी तथा सरोकारवालाहरूले माग गरेका छन् । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


