

हरिशयनी एकादशी : चातुर्मास्य व्रतको पवित्र आरम्भ, भगवान् विष्णुको शयनकाल सुरु हुने धार्मिक विश्वास
रौतहट ९ साउन । आषाढ शुक्ल पक्षको एकादशीलाई हिन्दू धर्मावलम्बीहरूले हरिशयनी एकादशीका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाउने गर्छन्। धार्मिक मान्यताअनुसार यस दिन भगवान् विष्णु क्षीरसागरमा शेषनागमाथि शयन गर्नुहुने भएकाले यस एकादशीलाई हरिशयनी एकादशी भनिएको हो।
पुराणअनुसार भगवान् विष्णु आषाढ शुक्ल एकादशीका दिन शयनमा जानुहुन्छ, भाद्र शुक्ल एकादशीमा कोल्टे फेर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन जागरण गर्नुहुन्छ। भगवान् विष्णुको शयनदेखि जागरणसम्मको चार महिनाको अवधिलाई चातुर्मास्य भनिन्छ।
हरिशयनी एकादशीका दिन श्रद्धालुहरूले उपवास बसी विधिपूर्वक चातुर्मास्य व्रत आरम्भ गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार यस दिन अन्न सेवन नगरी फलफूल, दूध, दही, पानी, घिउलगायत सात्विक पदार्थ ग्रहण गरेर व्रत बस्ने गरिन्छ।
धर्मशास्त्रहरूमा एकादशी व्रतलाई शरीर र मनको शुद्धि, आत्मनियन्त्रण तथा आध्यात्मिक उन्नतिको माध्यमका रूपमा व्याख्या गरिएको छ। यस दिन भगवान् विष्णुको पूजा, भजन–कीर्तन तथा धार्मिक अनुष्ठान गर्ने चलन पनि रहेको छ।
हरिशयनी एकादशीका अवसरमा तुलसीको बिरुवा रोप्ने परम्परा समेत रहेको छ। धार्मिकसँगै पर्यावरणीय दृष्टिले पनि तुलसी रोपणलाई महत्वपूर्ण मानिन्छ।
हरिशयनी एकादशी केवल धार्मिक व्रत र परम्परामा सीमित नभई आत्मशुद्धि, अनुशासन, भक्ति र आध्यात्मिक चेतनाको पर्वका रूपमा मनाइँदै आएको छ।


