

पर्सामा भएका घटनाहरुको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा ईन्चार्ज साह
काठमाडौं, १२ साउन । आम जनता पार्टी पर्सा जिल्ला कमिटीले पर्सास्थित् नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, सो घटनापश्चात् विरोधमा उत्रिएका चिकित्सकहरुमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा देशभरका महत्वपूर्ण अस्पतालमा अत्यावश्यकबाहेकका स्वास्थ्य सेवा ठप्प भएको विषयप्रति गम्भीर ध्यानाकार्षण जनाएको छ ।
आजपा पर्साको तर्फबाट इन्चार्ज रन्जु कुमारी साहले आज एक विज्ञप्ति निकाल्दै उपचारमा संलग्न चिकित्सकमाथि भएको कुटपिट र उक्त घटनाको विरोधमा उत्रिएका चिकित्सकहरुमाथि उल्टै प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार, ६५ जना चिकित्सकहरुले सामूहिक राजीनामा दिएको कारण काठमाडौंका वीर अस्पताल, कान्ति बाल अस्पताललगायत देशभरका सरकारी अस्पतालमा ओपिडीलगायतका अत्यावश्यक स्वास्थ्य सेवा ठप्प भएकोप्रति ध्यानाकार्षण भएको जनाएकी हुन् ।
सुनसरी जिल्लाको देवानगञ्ज–३ को कप्तानगञ्जमा भएको विवादपछि सुरक्षा निकायले गरेको गैरजिम्मेवारपूर्ण गोलीकाण्डले सुनसरी र मोरङको विराटनगर क्षेत्रमा अशान्ति फैलिरहेकै अवस्थामा पर्सामा यो अर्को दुःखद् घटना घटेको उनको भनाई छ ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ-“सुनसरीको घटना सेलाउन नपाउँदै पर्सामा आफ्नो कार्यक्षेत्रमा खटिएका चिकित्सकमाथि कुटपिट हुनु र प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भइरहेको वार्ताकै क्रममा पर्साका उपरीक्षकले आन्दोलनरत चिकित्सकहरुलाई धक्कामुक्का तथा दुव्यर्वहार गर्नु अत्यन्तै खेदजनक छ । प्रहरी प्रमुखबाटै भएको यस किसिमको दुव्र्यवहारपछि आक्रोशित बनेका चिकित्सकहरु सामूहिक राजीनामा दिन बाध्य भएका हुन् भन्ने प्रकाशमा आएको छ । सरकार र सुरक्षा निकायका पदाधिकारीहरुलाई आम नागरिक र पेशाकर्मीप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गर्दछु ।”
इन्चार्ज साहले यी श्रृंखलावद्ध घटनाहरुले नेपाल सरकार र मातहतका सुरक्षा निकायहरु आम नागरिक तथा पेशाकर्मीहरुप्रति असहिष्णु र आक्रामक बन्दै सर्वसाधारणमा त्रास सिर्जना गर्न उद्धत रहेको टिप्पणी गरेकी छिन् । सरकारले सुनसरी र पर्सामा भएका घटनाहरुको पूर्ण जिम्मेवारी लिनुपर्ने पनि उनको माग छ ।
उनले यी घटनाहरुको निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीमाथि तत्काल कडा कारबाही गर्न, आम नागरिकको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, स्वास्थ्यकर्मीहरुको पेशागत सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न र अत्यावश्यक स्वास्थ्यसेवा तत्काल सुचारु गर्न पनि सरकारसमक्ष जोडदार माग गरेकी छिन् ।

