

वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो

वीरगञ्ज, ३० साउन । भारतको ८०औँ स्वतन्त्रता दिवस वीरगञ्जस्थित भारत महावाणिज्य दूतावासले विभिन्न कार्यक्रम आयोजना गरी उत्साह र देशभक्तिपूर्ण भावनाका साथ मनाएको छ।
समारोहको सुरुवात ‘वन्दे मातरम्’को प्रस्तुतिबाट भएको थियो। त्यसपछि भारतका महावाणिज्यदूत श्री देवी सहाय मीनाले राष्ट्रिय झण्डा फहराउनुभएको थियो भने सहभागीहरूले सामूहिक रूपमा राष्ट्रिय गान गाएका थिए। महावाणिज्यदूत मीनाले समारोहमा भारतका राष्ट्रपतिको सम्बोधनसमेत वाचन गर्नुभएको थियो।
कार्यक्रमको मुख्य आकर्षण वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थी तथा विशेष क्षमता भएका बालबालिकाले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम बने। देशभक्तिपूर्ण गीत, नृत्य तथा नाटकमार्फत भारतको सांस्कृतिक विविधता र राष्ट्रिय एकताको भावना प्रस्तुत गरिएको थियो। प्रस्तुतिलाई सहभागी दर्शकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए।
समारोहमा पर्सा र बारा जिल्लाका वरिष्ठ प्रशासनिक तथा प्रहरी अधिकारीहरूका साथै BiCCI, NIFA, NYEF, NiCCI, पतञ्जलीलगायत विभिन्न संघसंस्था तथा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध र आपसी सहकार्यलाई समेत उजागर गरिएको थियो।
महावाणिज्यदूत मीनाले उत्कृष्ट सांस्कृतिक प्रस्तुति दिने विद्यार्थी तथा विशेष क्षमता भएका बालबालिकालाई प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभयो। उहाँले भारत सरकारको विदेश मन्त्रालयद्वारा आयोजित ‘भारत को जानिए’ प्रश्नोत्तरीका विजेताहरूलाई पनि पुरस्कार प्रदान गर्नुभयो।
त्यसैगरी, भारत महावाणिज्य दूतावास वीरगञ्जले विभिन्न विद्यालयसँगको सहकार्यमा आयोजना गरेको चित्रकला प्रतियोगिताका विजेताहरूलाई समेत प्रशंसा प्रमाणपत्र प्रदान गरिएको थियो।
समारोहमा सहभागीहरूले स्वतन्त्रता दिवसको अवसरमा भारत–नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए।

