

गरुडा नगरपालिकामा टेन्डरअघि भएको कामको भुक्तानीबारे प्रश्न, छानबिनको माग
रौतहट — गरुडा नगरपालिकामा आर्थिक वर्ष २०८२ मा विभिन्न योजनाका लागि आह्वान गरिएको टेन्डर प्रक्रिया र त्यसअघि नै योजनाको काम सुरु भएको विषयलाई लिएर गम्भीर प्रश्न उठेको छ।
नगरपालिकाले केही योजनाको टेन्डर आह्वान गरेको र टेन्डर खोल्ने मिति २०८२/०२/१८ गते तोकिएको अवस्थामा, टेन्डर खोलिनुभन्दा करिब दुई महिनाअघि नै सम्बन्धित योजनाको काम सुरु भएको दाबी गरिएको छ। उक्त काम ठेकेदारसँगको मिलेमतो तथा कमिसनको आधारमा गोप्य रूपमा अघि बढाइएको आरोपसमेत लगाइएको छ।
टेन्डर प्रक्रिया सुरु हुनुअघि नै काम भइरहेको भन्दै स्थानीयस्तरबाट विरोध जनाउँदै विभिन्न सञ्चारमाध्यममार्फत भिडियोसमेत सार्वजनिक गरिएको बताइएको छ। यस विषयमा सम्बन्धित व्यक्तिले आफ्नै नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरीसमेत दिएको दाबी गरेका छन्।
तर, पछि २०८२/०२/१८ गते टेन्डर खोली पहिले नै सम्पन्न भइसकेको भनिएको कामको भुक्तानीसमेत गरिएको आरोप छ। टेन्डर खुल्नुअघि नै काम सम्पन्न भएको अवस्थामा टेन्डर प्रक्रिया पूरा भएपछि उक्त कामको भुक्तानी कुन ठेकेदारले र कुन प्रक्रियाबाट प्राप्त गर्यो भन्ने विषयमा नगरपालिकासँग स्पष्ट जवाफ मागिएको छ।
सम्बन्धित पक्षले नगरपालिकामा भएको भनिएको आर्थिक तथा प्रक्रियागत अनियमितताको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै यस विषयमा अनिल यादव ले आफू चुप लागेर नबस्ने बताएका छन्। साथै, यसबारे नगरपालिकामा पुगेर सम्बन्धित पदाधिकारीसँग प्रत्यक्ष रूपमा जवाफ माग्ने चेतावनीसमेत दिएका छन्।
यद्यपि, लगाइएका आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी रहेकाले गरुडा नगरपालिकाको आधिकारिक धारणा तथा सम्बन्धित ठेकेदारको प्रतिक्रिया सार्वजनिक हुन आवश्यक देखिन्छ। नगरपालिकाले टेन्डर प्रक्रिया, काम सुरु भएको मिति, सम्झौता, नापी तथा भुक्तानीसम्बन्धी कागजात सार्वजनिक गरी उठेका प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने माग गरिएको छ।


