

भोटेकोशी बाढी : ९ हजार ४३५ जनाको उद्धार, ७८१ जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनाको उद्धार गरिएको नेपाल सरकारले जनाएको छ। प्रतिकूल मौसम, विकट भूगोल र निरन्तरको जोखिमबीच नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न स्वयम्सेवक टोली खोजी तथा उद्धारमा परिचालित छन्।
सरकारका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हालसम्म ३९४ वटा उडान भइसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २० हजार ६१८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
विद्युत् आयोजना क्षेत्रमा मात्रै नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ। चिनियाँ र कोरियन विशेषज्ञ टोलीले समेत नेपाली सेनासँग समन्वय गरी खोज तथा उद्धार कार्य जारी राखेका छन्।
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ र ‘बी’ जलविद्युत् आयोजनाका सुरुङमा समेत उद्धार प्रयास जारी छ। त्रिशूली–३ ‘ए’ को सुरुङमा नेपाली सेनाका इन्जिनियरले ब्लास्टिङसहित प्वाल फराकिलो पार्ने काम गरिरहेका छन्। तालिमप्राप्त कुकुरसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ९० जना विशेषज्ञ टोली घटनास्थलमा खटिएको सरकारले जनाएको छ।
बाढीबाट घाइते भएका २६७ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेकोमा १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि चिकित्सकसहितको टोली परिचालन गरिएको छ।

सरकारका अनुसार प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म नौ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको छ।
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
विपद् प्रभावितका लागि अन्तर्राष्ट्रिय सहयोगसमेत जुटिरहेको सरकारले जनाएको छ। एसियाली विकास बैंक, विश्व बैंक, अमेरिका, अष्ट्रेलिया, भारत, चीन तथा स्विट्जरल्यान्डलगायतबाट आर्थिक, प्राविधिक तथा मानवीय सहयोगको प्रतिबद्धता प्राप्त भएको छ। भारतबाट चार चरणमा ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ भने थप बेलीब्रिज सहयोगको प्रतिबद्धता आएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार सेवामा समेत क्षति पुगेको थियो। नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा बिटिएस टावर सञ्चालनमा आइसकेका छन्। प्रभावित क्षेत्रमा २० वटा स्याटलाइट फोनसमेत पठाइएको छ।
मुख्य सडकहरूमा क्षति पुगेपछि वैकल्पिक सडकमार्फत प्रभावित क्षेत्र जोड्ने प्रयास भइरहेको छ। भोटेकोशीमा पानीको सतह बढ्दा पहिरो गएपछि केही वैकल्पिक सडकमा समेत असर परेको छ भने कृष्णभीर क्षेत्रमा कटानका कारण यातायात अवरुद्ध भएको सरकारले जनाएको छ।
यसैबीच, बाढीमा ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने तथा पहिचान हुन नसकेका शव कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने कार्य भइरहेको छ।
नेपाल सरकारले विपद्बाट प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्याउने तथा पुनर्निर्माण र पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।

