

विपद्मा आरडिसी नेपालको साथ : ५० बाढीपीडित परिवारलाई साढे ६ लाखको राहत
रौतहट, १५ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको दैनिकी सहज बनाउन ग्रामीण विकास केन्द्र (आरडिसी) नेपाल, रौतहटले राहत अभियानलाई तीव्रता दिएको छ।
अक्सफाम नेपालको सहयोगमा आरडिसी नेपालले बाढी प्रभावित ५० घरधुरीलाई करिब ६ लाख ५० हजार रुपैयाँ बराबरका राहत सामग्री वितरण गरेको हो। प्रभावित परिवारलाई खाद्यान्न, सरसफाइका सामग्री तथा अस्थायी आवासका लागि आवश्यक सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ।
बाढीपछि घरबास, खाद्यान्न र दैनिक उपभोगका सामग्रीको अभाव झेलिरहेका परिवारलाई तत्काल राहत पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
आरडिसी नेपालका कार्यकारी निर्देशक आशिषकुमार सिंहले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताए। राहत प्रभावित परिवारसम्म पु¥याउन संस्थाका कर्मचारीहरू स्रोत व्यवस्थापनदेखि वितरणसम्म सक्रिय रहेको उनको भनाइ छ।
उनका अनुसार प्रभावितको आवश्यकता अझै बाँकी रहेकाले आगामी दिनमा थप राहत जुटाउन विभिन्न दाता तथा साझेदार संस्थासँग सहकार्यका लागि पहल भइरहेको छ।
आरडिसी नेपालले आफ्ना कर्मचारी तथा अन्य सहयोगी स्रोतबाट थप रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत जम्मा गर्ने प्रतिबद्धता जनाएको छ।
संस्थाले बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी निकायसहित सबै सहयोगी पक्षबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।


