

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन
काठमाडौं, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको जनाएको छ। बाढी आएको छैटौँ दिनसम्म प्रभावित रसुवा, नुवाकोट र धादिङमा सुरक्षा निकायसहित विभिन्न सरकारी तथा गैरसरकारी निकाय परिचालन भएका छन्।
सरकारका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनको संख्या खोज तथा पहिचानको क्रमसँगै घटबढ भइरहेको जनाइएको छ।
उद्धार गरिएका घाइतेमध्ये विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ जनामध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
३ हजार ६९६ प्रभावितसम्म राहत
सरकारले प्रभावित नागरिकका लागि राहत संकलन तथा वितरणलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। काठमाडौंलगायत देशका विभिन्न स्थानबाट संकलन गरिएका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउने काम भइरहेको छ।
सुरक्षाकर्मीले हवाई तथा सडकमार्गबाट रसुवा, नुवाकोट र धादिङका चारवटा संकलन केन्द्र हुँदै रसुवा र नुवाकोटका २७ वटा वितरण केन्द्रमार्फत ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म राहत पुर्याएका छन्।
प्रदेश तथा स्थानीय सरकार पनि संघीय सरकारसँगको समन्वयमा आश्रय र राहत व्यवस्थापनमा सक्रिय रहेको सरकारले जनाएको छ।
भारत, चीन, अमेरिका, संयुक्त अरब इमिरेट्स, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट समेत राहत तथा सहयोग प्राप्त भइरहेको छ।
राहत कोषमा साढे ५ अर्बभन्दा बढी
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग संकलन गरिरहेको जनाएको छ।
प्रधानमन्त्री राहत कोषमा मंगलबार मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको सरकारले जनाएको छ।
विभिन्न देश तथा संघसंस्थाले थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
त्रिशूलीपारिको सडक सञ्जाल पुनः सञ्चालन
बाढीका कारण सडक सम्पर्कविहीन बनेको नुवाकोटको त्रिशूलीपारिको भू–भाग पुनः सडक सञ्जालमा जोडिएको छ।
गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्मको सडक सञ्चालनमा ल्याइएको छ।
यससँगै नुवाकोटका ठूलो संख्यामा नागरिकलाई सदरमुकामसँग पुनः प्रत्यक्ष सडक पहुँच स्थापित भएको छ। सडक सञ्चालनमा आएपछि उद्धार, राहत वितरण र अत्यावश्यक वस्तुको आपूर्तिमा सहज हुने अपेक्षा गरिएको छ।
रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा पुल भत्किएकाले सरकारले अस्थायी पुल निर्माणलाई पनि प्राथमिकता दिएको छ। सरकारले ४८ मिटर लम्बाइका छवटा र ७० मिटरको एउटा बेलिब्रिज रहेको जनाएको छ।
देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको छ। भारत सरकारले २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज उपलब्ध गराएको छ भने थप सातवटा बेलिब्रिज पठाउने प्रतिबद्धता जनाएको छ। चीनबाट समेत ३० वटा बेलिब्रिज प्राप्त हुने सरकारले जनाएको छ।
विद्युत् सेवा पुनःस्थापनामा तीव्रता
बाढीबाट क्षतिग्रस्त विद्युत् सेवा पुनःस्थापना गर्ने काम पनि जारी छ। रसुवाको कालिकास्थान, नौकुण्डका केही भाग, गोसाइँकुण्ड गाउँपालिका–५ र ६ का केही क्षेत्र तथा सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालन भएको छ।
आमाछोदिङ गाउँपालिकाका केही क्षेत्रमा सान्जेन जलविद्युत् आयोजनाबाट छुट्टै प्रणालीमार्फत विद्युत् सञ्चालनको तयारी भइरहेको छ। जिल्लाका बाँकी क्षेत्रमा वैकल्पिक विद्युत्का लागि ५०० थान पोर्टेबल सोलार पठाइएको छ।
नुवाकोटमा बाढीबाट प्रभावित विद्युत् सेवामध्ये ८५ प्रतिशत क्षेत्रमा पुनःस्थापना भइसकेको छ। बाँकी १५ प्रतिशत क्षेत्रमा आगामी पाँच दिनभित्र विद्युत् सेवा सञ्चालन गर्ने गरी काम भइरहेको छ।

धादिङमा भने ९८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको छ। बाँकी क्षेत्रमा आगामी दुई दिनभित्र विद्युत् सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
सञ्चार सेवा पनि अधिकांश क्षेत्रमा सञ्चालन
बाढीका कारण अवरुद्ध सञ्चार सेवा पनि अधिकांश क्षेत्रमा पुनःस्थापना भएको सरकारले जनाएको छ।
नेपाल टेलिकमका १२० मध्ये ११० वटा बिटिएस र एनसेलका ७८ मध्ये ७५ वटा टावरले सेवा सञ्चालन गरिसकेका छन्।
जलविद्युत् आयोजनाबाट २७९ जनाको उद्धार
बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएको आशंकामा खोज तथा उद्धार जारी छ।
नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरेको जनाएको छ।
रसुवागढी जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरिएको छ। चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले आयोजनाको सुरुङभित्र समेत खोजी गरेको थियो। सुरुङभित्र मानिस नभेटिएपछि टोली फर्किएको जनाइएको छ।
लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाको सुरुङको मुख खोल्न नेपाली सेनासँगै भारतीय उद्धार टोली र नेपाली सहयोगी परिचालित छन्।
मैलुङ खोला जलविद्युत् आयोजनाबाट नौ जना, माथिल्लो त्रिशूली–१ बाट २५४ जना र माथिल्लो त्रिशूली–३ बीबाट दुई जनाको उद्धार गरिएको छ। माथिल्लो त्रिशूली–१ को सुरुङमा नेपाली सेना, कोरियन र चिनियाँ टोलीले खोज तथा उद्धार गरिरहेका छन्।
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गरी ९० जनाको टोली परिचालित छ। त्रिशूली जलविद्युत् आयोजनाबाट तीन जना, सौर्य आयोजनाबाट चार जना र देवीघाट जलविद्युत् आयोजनाबाट चार जनाको उद्धार गरिएको सरकारले जनाएको छ।
९३९ शव फेला
बाढीमा परी मृत्यु भएका तथा पहिचान हुन नसकेका शवको व्यवस्थापन कानुनी र वैज्ञानिक प्रक्रियाअनुसार भइरहेको सरकारले जनाएको छ।
‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार शव व्यवस्थापन भइरहेको जनाइएको छ। पहिचान हुन नसकेका शवबाट डीएनएलगायत पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखिएको सरकारले जनाएको छ।
हालसम्म ९३९ जनाको शव फेला परेको र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सहयोगमा शव व्यवस्थापन भइरहेको सरकारको भनाइ छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने प्रक्रिया पनि जारी छ।
जलवायु परिवर्तनले बढाएको जोखिम : सरकार
सरकारले भोटेकोशीमा आएको बाढीलाई सामान्य बाढी नभई हिमालय क्षेत्रमा हिउँ तथा चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिका रूपमा व्याख्या गरेको छ।
यस्तो घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको संकेत गरेको सरकारको भनाइ छ। हिमालय क्षेत्रमा जोखिम न्यूनीकरणका लागि सतर्कता बढाउनुका साथै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्ने आवश्यकता सरकारले औँल्याएको छ।
पुनःस्थापनाको काम अघि बढाइँदै
सरकारले खोज तथा उद्धारसँगै प्रभावित नागरिकको पुनःस्थापनाका लागि समेत तयारी अघि बढाएको जनाएको छ।
स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या, घर तथा भौतिक संरचनामा भएको क्षतिको विवरण संकलन भइरहेको छ।
बाढीका कारण हजारौँ नागरिकले घर, परिवार, प्रियजन तथा जायजेथा गुमाएको भन्दै सरकारले उनीहरूको पीडामा मलहम लगाउँदै सामान्य जनजीवनमा फर्काउने गरी पुनःस्थापनाको काम अघि बढाउने जनाएको छ।
प्रभावित नागरिकलाई मानसिक तथा शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापना गर्ने र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउने प्रक्रिया समेत अघि बढिरहेको सरकारको भनाइ छ।
सरकारले विपद्को यस कठिन घडीमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवक, संघसंस्था, प्रदेश तथा स्थानीय सरकार, मित्रराष्ट्र तथा स्वदेशी–विदेशी सहयोगी निकायप्रति आभार व्यक्त गरेको छ।

