


१८ जेठ, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-दोभान सडक खण्डमा पहिरो खसेपछि अवरुद्ध सडक १३ घण्टापछि एकतर्फी खुलेको छ ।
तीनवटा डोजर प्रयोग गरेर सडक खुलाइएको हो । तिनाउ गाउँपालिका वडा नंं ३ हेडबक्स भन्ने ठाउँमा पहिरो खसेपछि शुक्रबार बिहान ४ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियो ।
गत वैशाख ३१ गते पनि सोही स्थानमा पहिरो खसेको थियो । पहिरोबाट खसेका ठूला-ठूला ढुंगाले सडकमा अवरोध सिर्जना गरेपछि पाल्पातिरबाट बुटवल आउँदै गरेका र बुटवलबाट पाल्पा हुँदै गुल्मी, स्याङजा, पोखरा, बागलुङ हिँडेका सवारी साधन र यात्रुहरु बीचमै रोकिएका थिए ।
पहिरो खस्दै गर्दा सडक पार्ने क्रममा अन्दाजी ३० वर्षका मोहन रेश्मीको मृत्यु भएको छ ।