

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा रौतहटका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकाका सामाजिक परिचालक (सहायक स्तर पाँचौँ) कृष्ण नन्दन प्रसाद यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार यादवले जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रस्ट कोष समितिमा सामाजिक परिचालक (सहायक स्तर पाँचौँ) पदमा नियुक्ति लिने क्रममा BIHAR INTERMEDIATE EDUCATION COUNCIL, PATNA बाट जारी भएको देखिने IA तहको झुटा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अनुसन्धानबाट खुलेको छ।
उक्त प्रमाणपत्रका आधारमा यादवले हालसम्म राष्ट्रसेवकको हैसियतले कार्यरत रही ओहदा, लाभ तथा सुविधासमेत प्राप्त गरेको अख्तियारको दाबी छ।
अनुसन्धानबाट यादवले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै अख्तियारले उनीविरुद्ध कैद तथा जरिवाना सजायको मागदाबीसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।


