
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : १५औँ महाधिवेशनदेखि तराई–मधेशको सामाजिक सद्भावसम्मका विषयमा छलफल


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : १५औँ महाधिवेशनदेखि तराई–मधेशको सामाजिक सद्भावसम्मका विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बसेको छ। बैठकमा महामन्त्री प्रदीप पौडेलले समसामयिक राजनीतिक विषय तथा प्रस्तावित एजेन्डामाथि छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेका छन्।
बैठकमा पार्टीको १५औँ महाधिवेशन तयारी सम्बन्धी विषयलाई प्रमुख एजेन्डाका रूपमा छलफल गरिएको छ। महाधिवेशन तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति गठन र विधान मस्यौदा समिति गठनबारे छलफल भएको छ।
त्यसैगरी महाधिवेशनका लागि प्रचार–प्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायत उपसमिति गठन तथा केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा राखिएको छ।
बैठकमा पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषय, सरकारका १०० दिन तथा त्यसपछिका गतिविधि र प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् तथा संसद् बाहिर पार्टीको भूमिकाबारे पनि छलफल भएको छ।
यसैगरी प्रदेश सरकारको विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक विषय तथा भ्रातृ संस्थाहरूका विधान सम्बन्धी विषयमा समेत छलफल गर्ने कार्यसूची रहेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि श्रावण २५ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमै पुनः बस्ने कांग्रेसले जनाएको छ।
