

काठमाडौं । रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीपछि विभिन्न मुलुकका ६४४ पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार गोसाइँकुण्ड तथा कैलाश मानसरोवर यात्रामा रहेका पर्यटकहरू बाढीका कारण सम्पर्कबाहिर पुगेका हुन्।
सम्पर्कविहीन हुनेमा १२७ नेपालीसहित ३३ देशका नागरिक रहेका छन्। उनीहरूमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा बढी १७८ रहेको छ। त्यस्तै अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक सम्पर्कविहीन भएको बोर्डले जनाएको छ।
बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बस्ती, प्रहरीचौकी तथा भन्सार कार्यालय प्रभावित हुनुका साथै रसुवागढी नाका जोड्ने सडक र पुलमा समेत क्षति पुगेको जनाइएको छ।
पर्यटकहरूको अवस्थाबारे जानकारी लिन तथा उद्धार र सहयोगका लागि नेपाल पर्यटन बोर्डले टोल फ्री १२३४, हटलाइन ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।
बाढीपछि सयौँ विदेशी पर्यटक सम्पर्कविहीन बनेपछि उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउनुपर्ने आवश्यकता देखिएको छ।


