

रौतहटले गुमायो ऊर्जावान प्रशासक ओमप्रकाश यादव
रौतहट, ९ भदौ । रौतहटले एक कुशल, मिलनसार र ऊर्जावान प्रशासक ओमप्रकाश यादवलाई अल्पायुमै गुमाएको छ। दुर्गा भगवती गाउँपालिका–४ छतौनाका स्थायी बासिन्दा यादवको सोमबार साँझ काठमाडौंमा उपचारका क्रममा निधन भएको हो।
करिब दुई साताअघि ब्रेन स्ट्रोक भएपछि काठमाडौंमा उपचाररत यादवको स्वास्थ्यमा सुधार हुँदै गएको थियो। उपचारकै क्रममा उनको दुई पटक शल्यक्रिया गरिएको थियो। स्वास्थ्यमा सुधार देखिए पनि सोमबार साँझ करिब ७ बजे अचानक उनको निधन भएको परिवारजनले जनाएको छ।
नेपाल सरकारका शाखा अधिकृत यादवले रौतहटका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्दै प्रशासनिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए। उनले दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका र परोहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरेका थिए।
यसैगरी यादवले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति रौतहटमा समेत सेवा गरेका थिए। पछिल्लो समय उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत थिए।
कर्तव्यप्रति प्रतिबद्ध र सहकर्मी तथा सेवाग्राहीसँग मिलनसार स्वभावका यादवको निधनको खबरले रौतहटमा शोक छाएको छ। विशेषगरी उनको जन्मथलो छतौना तथा उनले सेवा गरेका स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।
यादवको निधनसँगै राज्यले अनुभवी र सम्भावनायुक्त प्रशासक गुमाएको छ भने उनको परिवारले सानै उमेरमा अभिभावक गुमाएको छ। उनी श्रीमती र दुई सन्तानका अभिभावक थिए। यसै गरि
यादवको निधनप्रति सम्मान व्यक्त गर्दै दुर्गा भगवती गाउँपालिकाले मंगलबार पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालयमा शोक विदा दिएको छ। यादव पालिकाका स्थायी बासिन्दा हुनुका साथै सोही पालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सेवा गरिसकेकाले उनको योगदानको स्मरण गर्दै शोक विदा दिइएको पालिकाले जनाएको छ।
दिउँसो १२ बजेपछि कार्यालय बन्द गरी यादवप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो। उनको निधनले गाउँपालिका परिवारसहित सिंगो स्थानीय समुदाय मर्माहत बनेको छ।
यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् तथा दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।


