


२१ जेठ, काठमाडौं । सांसदले दलित भएकै कारण काठमाडौंमा कोठा नपाएको गुनासो गरेका छन् ।
सोमबार संसदको विशेष समयमा बोल्दै सांसद कलुदेवी विश्वकर्माले दलित भएकै कारण एक महिनादेखि काठमाडौंमा कोठा पाउन नसकेको बताइन् ।
‘सबैभन्दा दुखलाग्दो कुरा के छ भने यो काठमाडौंको ठाउँमा त यस्तो छुवाछुतको भेदभाव छ’ उनले भनिन् ‘हामीले एक महिना पूरा भयो कोठा पाएनौं ।’
उनले संसदमा छुवाछुत अन्त्य भएको पटक पटक सुने पनि काठमाडौंमा नै छुवाछुत भोग्नुपरेको बताइन् । ‘छुवाछुतको भेदभाव हुने छैन भनेर सांसदमा सुनिरहेका छौं’ सांसद विश्वकर्माले भनिन् ‘काठमाडौंमै यस्तो छुवाछुत छ भने गाउँघरमा के होला ?’
गाउँघरमा दलितहरुले सुतेको ठाउँमा पोत्नुपर्ने र खाएको भाडा माझ्नुपर्ने अवस्था रहेको बताइन् । उनले दलित भन्ने शब्द नै हटाउन आग्रह गरिन् । ‘हामी दलित होइनौं शिल्पी हौं’ विश्वकर्माले भनिन् ।