

गरुडा नगरपालिकामा कार्यालय बाहिरबाट करोडौंको भुक्तानी प्रक्रिया, निष्पक्ष छानबिनको माग
,रौतहट, २६ असार। रौतहटको गरुडा नगरपालिकामा आर्थिक वर्षको अन्तिम समयमा नगरपालिका कार्यालयभन्दा बाहिरबाट करोडौं रुपैयाँको भुक्तानी प्रक्रिया सञ्चालन गरिएको आरोप सार्वजनिक भएपछि स्थानीय तहको आर्थिक पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठेको छ।
स्थानीय बासिन्दाका अनुसार असार २४ र २५ गते राति कार्यालयमा ताला लागेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपाने, लेखापाल राजनारायण यादव, नगरप्रमुख कन्थमणी प्रसाद कलवार, केही वडाध्यक्ष तथा कर्मचारीहरूले गरुडा नगरपालिकाको कार्यालयमा नभई दुर्गा भगवती गाउँपालिका–३, मत्सरीस्थित एक कर्मचारीको घरबाट भुक्तानी सम्बन्धी प्रक्रिया सम्पन्न गरेका थिए।
आर्थिक वर्ष समाप्त भएसँगै राति ११:५९ बजेपछि सम्बन्धित वित्तीय सफ्टवेयर बन्द हुने भएकाले समयमै भुक्तानी प्रक्रिया टुंग्याउन बाध्य भएर उक्त स्थानबाट काम गरिएको दाबी गरिएको छ। यद्यपि सरकारी कार्यालयभन्दा बाहिर बसेर सार्वजनिक आर्थिक कारोबार गर्नु कानुनी तथा प्रशासनिक दृष्टिले उचित हो वा होइन भन्ने विषयमा अहिले व्यापक बहस सुरु भएको छ।
स्थानीय स्रोतहरूले उक्त गतिविधि सुरक्षाकर्मी र स्थानीय प्रशासनको जानकारी तथा संरक्षणमा भएको दाबी गरेका छन्। यद्यपि यस दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
घटनाप्रति स्थानीयवासीले नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखापाल तथा सम्बन्धित जनप्रतिनिधिमाथि निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले सार्वजनिक आर्थिक अनुशासन र सुशासनको मर्म विपरीत भएको आरोप लगाउँदै सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत निलम प्रसाद न्यौपाने संग सम्पर्क गर्दा फोन उठेन ।
घटनाले स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापन, पारदर्शिता, उत्तरदायित्व र सुशासनको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायबाट हुने छानबिन र त्यसको निष्कर्षप्रति अहिले स्थानीयवासीको चासो बढेको छ।


