

जनकपुरधाम । मधेश प्रदेशमा महिलाको तुलनामा बालिका बलात्कारका घटना बढी देखिन थालेका छन्। पछिल्ला तीन वर्षको तथ्यांकले बालिकामाथि हुने यौन हिंसाको अवस्था गम्भीर बन्दै गएको देखाएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नेपाल मानवअधिकार वर्ष पुस्तकमा उल्लेखित तथ्यांकअनुसार सन् २०२३ देखि २०२५ सम्म मधेश प्रदेशमा बलात्कारका कुल ६३० घटनामध्ये ३३१ जना बालिका पीडित भएका छन्। सोही अवधिमा २९९ महिला बलात्कारको शिकार भएको तथ्यांकमा उल्लेख छ।
वर्षगत रूपमा हेर्दा बालिका बलात्कारका घटना सन् २०२३ मा १००, २०२४ मा १३० र २०२५ मा १०१ वटा रहेका छन्। जिल्लागत रूपमा सबैभन्दा बढी घटना सर्लाहीमा ६७ वटा छन्। त्यसपछि सप्तरीमा ५५, सिरहामा ५३, पर्सामा ४०, बारामा ३५, रौतहटमा २८, धनुषामा २७ र महोत्तरीमा २६ घटना भएको तथ्यांक छ।
महिलातर्फ भने तीन वर्षमा सबैभन्दा बढी बलात्कारका घटना धनुषामा ९७ वटा देखिएका छन्। सप्तरीमा २९, सिरहामा ४३, महोत्तरीमा २५, सर्लाहीमा २४, रौतहटमा ३२, बारामा २२ र पर्सामा २७ घटना अभिलेख गरिएको छ।
बालबालिकासम्बन्धी घटनाको अध्ययन गरिरहेका सरोकारवालाहरूका अनुसार किशोरी तथा कम उमेरका बालिका जोखिममा बढी देखिएका छन्। सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग, अश्लील तथा उत्तेजक सामग्रीको पहुँच, अभिभावकीय निगरानीको कमी, नैतिक तथा यौन शिक्षाको अभाव र विभिन्न प्रलोभनलाई घटनाका प्रमुख कारणका रूपमा औँल्याइएको छ।
मानवअधिकारकर्मी एवं अधिवक्ता रेखा झाले बालबालिकालाई उमेरअनुसारको यौन शिक्षा, ‘गुड टच’ र ‘ब्याड टच’ सम्बन्धी जानकारी दिनुपर्नेमा जोड दिएकी छन्। उनका अनुसार परिवारमा अभिभावकीय भूमिका कमजोर हुँदै जानु पनि बालबालिकामाथि हुने जोखिम बढ्नुको एउटा कारण हो।
इन्सेकका मधेश प्रदेश प्रतिनिधि एवं मानवअधिकारकर्मी राजु पासवानले सामाजिक सञ्जालको दुरुपयोग, विभिन्न प्रलोभन, बालअधिकारसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनको अभाव र सामाजिक प्रतिष्ठाका कारण कतिपय घटना लुकाइने प्रवृत्तिले समस्या थप जटिल बनाएको बताएका छन्।
बालिकामाथि हुने यौन हिंसा नियन्त्रणका लागि कानुनी कारबाहीसँगै परिवार, विद्यालय, समुदाय र राज्यका निकायबीच समन्वय गरी बालमैत्री सुरक्षा संयन्त्र बलियो बनाउनुपर्ने आवश्यकता देखिएको छ।


