

सिगांपुर,जेठ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता सकिएको छ। दुबै नेताले आपसमा हात मिलाएर सुरू गरेको वार्ता ४५ मिनेटसम्म चलेको थियो।
वार्तास्थलबाट सँगै निस्किएका उनीहरुमध्ये अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरूबिच सौहार्दपूर्ण वार्ता भएको जानकारी गराए।
‘मलाई एकदम खुसी लागिरहेको छ। हामीबीच सौहार्दपूर्ण वार्ता र छलफल भयो। मलाई विश्वास छ हामीबिचको सम्बन्ध गज्जबको हुनेछ, यसमा मलाई कुनै शंका छैन।’
परमाणु निरस्त्रीकरणबारे डोनाल्ड ट्रम्पले यसबारे हामी सँगै काम गर्ने जानकारी दिए।
सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा राष्ट्रपति ट्रम्प र किमले एकअर्कासँग ऐतिहासिक एक्ला एक्लै वार्ता गरेका हुन्।
सबैभन्दा पहिले आ-आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे।

त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे।
‘हाम्रो सम्बन्ध गज्जबको हुनेछ, यसमा मलाई कुनै शंका छैन,’ किमसँग हात मिलाउँदै ट्रम्पले भने। त्यसपछि किम जोङ उनले अंग्रेजीमै भने, ‘राष्ट्रपति ज्यू, तपाईंसँग भेट्दा अत्यन्त खुसी छु।’
यति भनिसकेपछि उनीहरू एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागेका थिए।
दुई नेताबीचको एक्ला एक्लै वार्ता सकिएपछि दुई पक्षका अधिकारीहरू कार्यसूची सहित दिवाभोजमा सहभागी हुँदैछन्।
वरिष्ठ सल्लाहकार तथा अधिकारीहरू सहभागी हुनुपूर्व दुई नेताले एक्लाएक्लै वार्ता गरेका हुन्।
दुई नेताबीच भएको यो प्रथम भेटलाई विश्व राजनीतिको ऐतिहासिक क्षण मानिएको छ।
दुवै नेताबीचको निजी भेटघाट समाप्त भइसकेको छ। हाल दुवै नेता कन्फेरेन्स हलमा आआफ्नो टोलीसहित छलफल गरिरहेका छन्।