


१७ जेठ, काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका विश्वासपात्र जनरल किम योङ चोलले अमेरिकी स्टेट सचिव माइक पोम्पियोलाई न्युयोर्कमा भेटेका छन् ।
जनरल किम योङ चोलले चीन हुँदै अमेरिका उत्रिएपछि पोम्पियोसँग भेटवार्ता गरेर सँगै डिनर गरेका हुन् ।
यी दुई उच्च अधिकारीले बिहीबार फेरि भेट गर्ने छन् । उनी पछिल्लो बीस वर्षमा अमेरिका भ्रमण गर्ने सबैभन्दा उच्च पदका उत्तर कोरियाली अधिकारी हन् ।
उनीहरुले किम र ट्रम्पको १२ जुनमा सिंगापुरमा हुने भनिएको वार्ताको बारेमा छलफल गरेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमसँगको वार्ता रद्द भएको घोषणा गरेका थिए । तर, त्यसपछि दुवै पक्षले पूर्वनिर्धारित मितिमै वार्ता हुने वातावरण मिलाउन ताजा प्रयासहरु थालेका छन् ।
सिंगापुरमा हुने भनिएको वार्ता अमेरिका र उत्तर कोरियाली नेताबीच हुन लागेको पहिलो वार्ता हो । त्यसैले धेरैलाई यसबारे चासो छ ।
बुधबार बेलुकी अमेरिकी डिपार्टमेन्ट अफ स्टेटका सचिव पोम्पियो र जनरल किम संयुक्त राष्ट्रसंघको कार्यालय नजिकैको एक भवनमा छुट्टाछुट्टै प्रवेश गरेका थिए ।
त्यसको केही समयपछि पोम्पियोले न्यु योर्कमा किम योङसँग वार्ता गर्दै संगै खाना खाएको भन्दै टि्वट गरेका थिए । उनले मेनुमा स्टेक, कर्न र चिज रहेको पनि टि्वटमा उल्लेख गरेका थिए ।
यसैबीच उत्तर कोरियाले ट्रम्प प्रशासनको सदस्यहरुले उत्तर कोरियाली निशस्त्रीकरणलाई लिबियासँग तुलना गरेकोमा आपत्ति जनाएको छ ।
पूर्व लिबियाली नेता कर्णेल गद्दाफीले आफ्नो आणविक कार्यक्रम बन्द गरेको केही वर्षपछि पश्चिमा समर्थित विद्रोहीले उनको हत्या गरेका थिए ।