

सिगांपुर ,जेठ २९ । संयुक्त राज्य अमेरिका र उत्तर कोरियाले चार बुँदे संयुक्त समझदारी पत्रमा हस्तारक्षर गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटपछि चार बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारी पत्रको पहिलो बुँदामा अमेरिका र उत्तर कोरिया दुबै देशका जनताको शान्ति र समृद्धिको चाहना अनुरूप नयाँ सम्बन्ध स्थापना गर्न प्रतिबद्धता जनाएका छन्।

दोस्रो बुँदामा कोरियाली प्रायद्वीपमा दीर्घकालीन र स्थिर शान्ति कायम गर्न अमेरिका र उत्तर कोरियाले संयुक्त प्रयास गर्ने उल्लेख छ।
तेस्रो बुँदामा उत्तर कोरियाले सन् २०१८ अप्रिल २७ मा भएको पान्मुन्जोम घोषणा दोहोर्याउँदै कोरियाली प्रायद्वीपमा पूर्ण अनआणविकीकरणका लागि प्रतिबद्ध जनाएको छ।
समझदारी पत्रको चौथो बुँदामा अमेरिका र उत्तर कोरियाले युद्धबन्दी/बेपत्ता खोजी र पहिचान भएकाहरूको आदानप्रदान प्रतिवद्धता जनाएका छन्।
समझदारी पत्रमा हस्ताक्षर गरेपछि उत्तर कोरियाली नेता किमले आफूहरूले बिगतलाई छोडिदिने निर्णय गरेकाले अब संसारले नयाँ परिवर्तन देख्ने बताए।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको अनआणविकीकरण प्रक्रिया छिटै सुरू हुने बताए।