

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना कामदार तथा कर्मचारी सम्पर्कविहीन भएका छन्।
बाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघका अनुसार तीमध्ये ११ वटा आयोजनामा कार्यरत कामदार तथा कर्मचारीहरू सम्पर्कविहीन अवस्थामा रहेका छन्।
रसुवामा ७३० जना सम्पर्कविहीन
बाढीबाट रसुवा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। जिल्लाका ६ वटा जलविद्युत् आयोजनामा कार्यरत ७३० जना सम्पर्कविहीन भएका छन्।
निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा मात्रै ५७६ जनाको अवस्था अज्ञात रहेको छ।
त्यस्तै, सञ्चालनमा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, २० मेगावाटको लाङटाङ खोलाका ४२ जना, २२ मेगावाटको चिलिमेका ८ जना र ५ मेगावाटको मैलुङ खोलाका ७ जना सम्पर्कविहीन भएका छन्।
निर्माणाधीन १२० मेगावाटको रसुवा–भोटेकोशी आयोजनाका ४ जना पनि सम्पर्कबाहिर रहेका छन्।
नुवाकोटमा २०४ जना सम्पर्कविहीन
नुवाकोटका जलविद्युत् आयोजनाहरू पनि बाढीबाट प्रभावित भएका छन्। जिल्लाका पाँचवटा आयोजनामा कार्यरत २०४ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी आयोजनामा १५८ जना सम्पर्कविहीन छन्।
त्यसैगरी, सञ्चालनमा रहेको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए आयोजनाका ४२ जना, निर्माणाधीन मिडल त्रिशूली गंगाका २ जना तथा त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाका एक–एक जना पनि सम्पर्कमा आउन सकेका छैनन्।
२५४ जनाको उद्धार, हेलिकप्टरबाट तत्काल उद्धार आवश्यक
बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। हालसम्म माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत २५४ जनाको सकुशल उद्धार गरिएको जनाइएको छ।
बाढीका कारण सडक तथा यातायात सञ्जाल अवरुद्ध हुँदा विभिन्न आयोजनामा फसेकाहरूको उद्धारमा कठिनाइ भएको छ। विशेषगरी लाङटाङ, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ए र चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरूको तत्काल उद्धार गर्न हेलिकप्टर आवश्यक देखिएको छ।
बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा समेत ठूलो क्षति पुगेकाले प्रभावित क्षेत्रमा उद्धारसँगै क्षतिको विस्तृत विवरण संकलन गर्ने कामसमेत चुनौतीपूर्ण बनेको छ।


