पाकिस्तानको चुनावमा उठेका एकसे एक गरीब नेता
बीबीसी , असार १२ । पाकिस्तानको आम निर्वाचनको चुनावी अभियानले गति लिन थालेको छ । यस क्रममा चुनावमा उठेका अधिकांश उमेद्वारहरुले पाकिस्तानको चुनावी आयोगमा आफूसँग भएको पूँजी, व्यवसाय र जमिनको मूल्य कमभन्दा कम बुझाएका छन् ।
आयोगलाई बुझाइएको तथ्याङ्कबाट पो थाहा पायौँ हामीले धनी सम्झिएकाहरु त विचरा बहुसङ्ख्यक जनताजस्तै मध्यम वर्ग वा उच्च मध्यम वर्गको पो रहेछन् ।
र, जसलाई हामी गरीब सम्झिन्थ्यौं उनीहरुसँग यति धेरै धन देखियो कि उनीहरुले चाहेमा पाकिस्तानले आईएमएफलाई तिर्नुपर्ने विशाल रकम पनि बुझाउन सक्दा रहेछन् ।
जस्तो पञ्जाबको मुजफ्फरगढ जिल्लाको एक स्वतन्त्र उमेद्वार मोहम्मद हुसेन शेखले सम्पत्ति घोषणा पत्रमा आफूसँग ४० अर्बको जग्गा भएको लेखेका छन् । यो हिसाबले उनी यस निर्वाचनमा उठेका सबैभन्दा धनी उमेद्वार हुन् ।
जबकी चर्चित उमेद्वार इमरान खानले इस्लामाबादमा रहेको ७५ बिघाहामा फैलिएको घरको मुल्य ३० लाख पाकिस्तान रुपैयाँ मात्र रहेको बताएका छन् । साथै उनले आफूसँग कुनै विलासी कार नभएको, आफूसँग रहेको १४ वटा घरहरु अंशमा आएको र हवाई जहाजको यात्रा साथी भाईको दिएको पैसाबाट किनेको टिकटबाट गरिने लेखेका छन् ।
उनका अनुसार उनी यति गरिब छन् कि पछिल्लो वर्ष उनले १ लाख ४ हजार पाकिस्तानी रुपैयाँ मात्र आयकर बुझाए ।
अर्का नेता आसिफ जरदारीको धनको बारेमा कति धेरै उडाइन्थ्यो । उनलाई सिन्ध प्रान्तको आधि चिनी मिलको मालिक भनिन्थ्यो । दुबई र बेलायतमा आलिसान भवन भएको, हजारौँ एडक जग्गा भएको र अज्ञात परियोजनामा अर्बौँ पैसा लगानी रहेको बताइन्थ्यो । तर खासमा यस्तो केही होइन रहेछ ।
कूल जोडेर उनको घोषित सम्पत्तिको मूल्य मात्र ७५ करोड पाकिस्तानी रुपैयाँ रहेछ ।
जरदारीको छोरा बिलावल भुट्टो कराँची क्षेत्रको क्लिफटनमा चार हजार गजको घरमा बस्छन् । यो घरको छेउमा रहेको सडकको आधा सडकमा उनकै मात्र गाडी चल्छ । तर यो घरको मूल्य ३० लाख पाकिस्तानी रुपैयाँ घोषणा गरिएको छ । जबकी उनको छेउका रहेका अन्य घरहरुको मुल्य ३०–४० करोड पाकिस्तानी रुपैयाँभन्दा कम छैन ।
बिलावरको उक्त घरको मूल्य थाहा पाएपछि हजारौँ मानिसहरुले बिलावरको घर किन्ने प्रस्ताव राखेका छन् तर उनी भने बेच्न तयार नै छैनन् ।
नवाज शरिफको अवस्था त्यो भन्दा पनि दयनीय छ । लाहोर जादा विचरा आमाको घरमा, मरी जाँदा आफ्नो श्रीमतीको घरमा र लण्डन जाँदा आफ्नो छोराको घरमा सुत्दा रहेछन् ।
आय हुने कुनै व्यवसाय नभएकाले विचरालाई खर्चको लागि छोराछोरीसँग पैसा माग्नु पर्दो रहेछ । जबकी उनको भाई शहबाज शरिफ र छोरा हमजासँग अर्ब बराबरको सम्पत्ति छ ।
पाकिस्तानका तीन प्रमुख राजनैतिक गुटका देवता समान यी नेताहरु हरेक पाँच वर्षमा एक यस्तो नयाँ पाकिस्तान बनाउने कसम खान्छन् जहाँ हरेक मानिसहरुले कर तिर्छन र साँचो बोल्छन् । र, यसका साथै आफ्नो पार्टीको सरकार बनेमा यस्तो कानून बनाउने बाचा गर्छन् जसले धनी झन् धनी र गरीब झन् गरीब हुने अवस्था अन्त्य गर्नेछ ।
साथमा अर्थव्यवस्थालाई यसरी विकास गरिन्छ कि छिट्टै पाकिस्तान नयाँ एशियन टाइगर हुने हिसाबले कुद्छ भन्ने वाचा गरिन्छ ।
रह्यो जनताको कुरा, उनीहरु हरेक निर्वाचनामा पुरानो सपनालाई नयाँ प्याकेजिङ्गमा किन्न बारम्बार बाध्य छन् ।
यदी जनताले यो पनि गरेनन् भने यी मुर्खलाई जनता कसले भन्छ ?