ठेकेदारले क्रसर राखेर गिट्टी बेचेपछि क्रसर बन्द गर्न निर्देशन
गढीमाई नगरपालिका २, समनपुरस्थित बागमती नदीकिनारमा अवैधरुपमा सञ्चालनमा रहेको क्रसर उद्योग लाइ प्रशासनले बन्द गराएको छ ।
समनपुरबाट सर्लाहीको हजरिया जोड्ने बागमती नदीमा निर्माण हुँदै गरेको पुलका लागी गिट्टी आवश्यक पर्ने भन्दै अवैधरुपमा क्रसर संचालन गरीएको थियो । त्यहा बाट उत्पादन भएका गिटी पुलमा प्रयोग नगरी अन्यत्र बिक्री गरेको भन्दै गुनासो बढेपछि जिल्ल प्रशासन कार्यालयले क्रसर बन्द गराएको हो ।
अनुमति नलिइ सञ्चालनमा रहेको उद्योगबाट बाहिर गिट्टी बिक्री हुँदै आएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसहितको टोलीले केही दिन अघि अनुगमन गरी बन्द गर्न निर्देशन दिएको हो ।
नियमविपरीत भएकाले बन्द गर्न पत्र पठाएको छौ, प्रजिअ रिजालले बताए ।
पुल ठेकेदारले केही स्थानीयलाइ सञ्चालन गर्न दिई बाहिर बिक्री गर्दै आएका थिए । त्यसको उजुरी परेपछि प्रशासनले अनुगमन गरेको थियो ।
पुलको ठेक्का पाएको एलाइट कन्स्ट्रक्सनले क्रसर राखेको हो । पुल ढलनका लागि राखिए पनि ठेकेदारले १ महिनाअघि नाफा लिएर स्थानीयलाइ सञ्चालन गर्न दिएका थिए ।
समनपुरस्थित बागमती नदीमा २०७१ मा पुल निर्माणको काम सुरु भएको हो । ठेकेदारका इन्जिनियर अजय झाले पुल निर्माणमा लाग्ने फ्रेस गिट्टी चाल्नका लागि क्रसर सञ्चालन गरिएको बताएका छन ।